Wednesday, April 10, 2024

सुदूर संस्कृति: चेलीले आफ्नो पीर व्यथा गहिरो वेदना भाव बोकेको ‘पुतला खेल’



 काठमाडौँ– नयाँ वर्षको आगमन हुँदै गर्दा सुदूरपश्चिमका अछाम, बाजुरा र कैलाली भेगमा यतिबेला ‘पुतला खेल’को रौनक छाइरहेको छ । मङ्गलाचरण गाउँदै विवाहित सुदूरका चेलीबेटीले माइती पक्षका देवीदेवताहरुलाई स्मरण गरेर ‘पुतला खेल’मा आफ्नो पीर व्यथा पोख्दै छन् ।

सुदूरको सांस्कृतिक तथा ऐतिहासिक मान्यता अनुसार ‘पुतला खेल’ले विवाहित चेलीबेटीको दुःख, करुणा र माइतीसँग बिछोड भएपछि सामना गर्नुपर्ने परिस्थितिको गहिरो वेदना भाव बोकेको छ ।

कैलाली टिकापुरकी स्थानीय तथा सञ्चारकर्मी दुर्गा देवकोटाका अनुसार यो पर्वले सुदूरका महिलाहरुको पीरव्यथाहरु समेटेको छ ।

‘पुतला खेल’ खासगरी महिलाहरुले फरिया, चौबन्दीजस्ता मौलिक पहिरन लगाएर हातमा पटुकाको फेरो समाएर गीतका शब्दसँगै एक कदम पछाडि सर्दै खेल्ने सांस्कृतिक खेलका रुपमा रहेको सांस्कृतिक समाज टीकापुर कैलालीका सल्लाहकार समितिका संयोजक कण्ठराज गिरीले बताए ।

उनका अनुसार सुदूरपश्चिमका अछाम, बाजुरा र कैलालीमा मात्रै खेलिने ‘पुतला खेल’ नेपाली चेलीबेटीहरुले सामुहिक रुपमा भेला भएर खेल्ने गर्दछन् ।

‘पुतला खेल महिलाहरुले खेल्ने खेल र अध्यात्मिक चिन्तनका रुपमा हामी लिन्छौं । किनकी यो खेल नयाँ वर्ष शुरु हुनुभन्दा एक हफ्ता अगाडिदेखि नै मङ्गलाचरण गाउँदै विवाहित चेलीबेटीका माइतीलाई सम्झँदै शुरु हुन्छ,’ गिरीले जोय नेपालसँगको कुराकानीका क्रममा भने ।

विविध कला र संस्कृतिले धनि नेपाललाई बहुसांस्कृतिक र बहुधार्मिक तथा बहुविशेषतायुक्त देश भनेर चिनिने देशमा  सुदूरपश्चिमका कला र संस्कृतिमध्ये ‘पुतला खेल’ लाई पहिचानकै रुपमा लिइएको स्थानिय संस्कृतिविद्हरुको भनाइ छ । उनीहरुका अनुसार सुदूरपश्चिमका डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरको मुख्य संस्कृतिका रुपमा मनाइन्छन् ।

सुदूर पश्चिममा मात्र नभएर नेपाली छोरीचेलीबेटी विवाह गरेर गएपछि माइती फर्काउने तीज जस्ता महत्वपूर्ण पर्वहरु छन् । पुतलामा पनि छोरीचेलीले विवाह गरेर जानुपर्छ भन्ने मानसिकता यो खेलमा गाइने गीतहरुमा झल्किन्छन् ।

ऐतिहासिक कथन अनुसार परापूर्वकालमा अछाममा (तत्कालीन बिमकोट राज्यका) ठकुरी राजाकी छोरी रञ्जना (रनपुतला) को विवाह धेरै उमेर बितिसक्दा पनि भएन ।

पछि तराईबाट गएका एक बडाराजाले बिमकोटे राज्यका रञ्जनासँग विवाहको प्रस्ताव गर्दा रञ्जनाले अस्वीकार गर्छिन् ।

तराईमा गर्मी हुने र त्यहाँ आफू गर्मीले पोलिएर मर्ने कुरा सुनाउँछिन् । तर राजाले भने सबै कुराको बन्दोबस्त गरेर पठाउने कुरा सम्झाइ–बुझाई गरेर विवाह गरिदिन्छन् ।

यो प्रसङ्ग समेत पुतला नाचसँग जोडिने गिरीले बताए । तर कतैकतै भने अछाम र बाजुराको सङ्गमस्थलमा एक राजाले आफ्नी छोरी रनमैयाको शोकमा पुतला नाच शुरु गरेका भन्ने सुनिने गरे पनि अहिलेसम्म ठ्याक्कै किटेर नै कसैले भन्न नसकेको गिरीले सुनाए ।

उनले भने, ‘मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झँदै पुतला खेल्न लगाएका थिए भन्ने पनि भनाइ छ । तर ठ्याक्कै किटेर यो परम्परा कसरी शुरु भयो भन्न सकिने अवस्था छैन ।’

‘पुतला खेल’ बिसु (डोटेली भाषामा नेपाली नयाँ वर्ष चिनाउने शब्द) आउनुभन्दा एक हप्ताअघिदेखि शुरु भएर बिसुका दिन समापन गर्ने चलन रहेको स्थानीय रङ्गी थापाले बताइन् ।

उनले भनिन्, ‘यो हामी महिलाहरुले माइतीदेखि पोइल घरसम्म आइपुग्दा सामना गर्नुपरेको दुःखपीर बिसाउने संस्कृति हो । एक हप्ता अगाडीबाट शुरु गरी बिसुका दिन सेलाउँछौँ ।’ उनका अनुसार सेलाउनुभन्दा अगाडिका दिन दुईजना महिलालाई नै बेहुलाबेहुलीको स्वरुप मानी विवाह गराइन्छ । बिसुका दिन पुराना धारा, वा पानीको मुहान नजिक पुतला सेलाउने गरिन्छ ।’

धेरै पहिलेदेखि नै पुतला खेल खेल्दै आएकी थापाले अहिलेको नयाँ पुस्ताले भने यो खेलप्रति चासो नदेखाएको सुनाइन् । उनले यस परम्पराको सम्मान गर्न नसकिरहेको गुनासो समेत गरिन् ।

गिरीका अनुसार पनि पछिल्लो समय भने पुरानो पुस्तासँगै यो नाच पनि हराउँदै गएको छ ।

पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको उनले बताए ।

‘हामीले सांस्कृतिक समाजको तर्फबाट सुदूरपश्चिमको होरी, पुतला खेल, देउडासँगै कला, संस्कृति र भेषभुषाको संरक्षणका लागि धेरै कामहरु गर्दै आएका छौं । तर अहिलेका युवापुस्ताले यस्ता कुराहरुमा खासै चासो दिने गरेका छैनन्,’ उनले भने ।

स्थानीय सरकारले संस्कृति संरक्षणको पाटोमा न्युन कार्य गरेको उनको बुझाइ छ । मौलिक भेषभुषा, भाषा संस्कृति तथा परम्पराको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउबाट सहयोग गरौं भन्ने उनको आग्रह छ ।

Tuesday, March 5, 2024

युवापुस्तामा किन बढ्दैछ आत्महत्याका घटना ?

 काठमाडौं– गत माघ ३ गते पश्चिमी पहाडी जिल्ला डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १० मा बस्ने कौशिला महराले बिष सेवन गरेर आत्महत्या गरिन् ।

त्यसको केही दिनअगाडि मात्रै सोही वडाकै पार्वती बोहराले पनि विष सेवन गरेर मृत्युको बाटो रोजिन् ।

प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार पार्वतीले ‘प्रेमीले धोका दिएको’ भन्दै विष सेवन गरेकी थिइन् । उनको कोठामा प्रेमीलाई सम्बोधन गरिएको एक नोट समेत भेटिएको थियो ।

तर, प्रेमीकै कारण उनले आत्महत्याको बाटो रोजिन् कि अन्य कारण थियो भन्ने अझै खुलेको छैन ।

गत साउनदेखि माघसम्मको तथ्यांक हेर्दा डडेल्धुरा जिल्लामा मात्रै १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । त्यहाँका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुसुम नायकका अनुसार साउनदेखि पुससम्ममा ६ महिला र ३ पुरुषले झुण्डिएर तथा २ महिला र १ पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

सुुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक प्रज्वल महर्जनका अनुसार यस प्रदेशमा मात्रै हालसम्म १ सय २२ महिला र १ सय ५१ पुरुष गरी जम्मा २ सय ७३ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो समय आत्महत्या निकै डरलाग्दो र भयावह रुपले भुसको आगोझैँ फैलिरहेको छ । नेपालमा पछिल्लो केही वर्षयताको आत्महत्याको विवरण हेर्दा वि.सं. २०७७ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५ हजार ७ सय ३१ जनाले झुण्डिएर आमहत्या गरेका थिए भने १ हजार २ सय ८६ ले विष सेवन गरेका मृत्युको बाटो रोजेका थिए ।

बाँकी १ सय ८ जनाले अन्य विभिन्न कारणले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै वि.सं. २०७८ मा पनि ६ हजार १ सय ३२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ४ हजार ९ सय ६४ जनाले झुण्डिएर र ९ सय जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् भने अन्य ९८ जनाले अरु कारणले आत्महत्या गरेका छन् । यस्तै २०७९ मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरिक्षक भिम प्रसाद ढकालका अनुसार यस वर्षको पहिलो ६ महिनामा हालसम्म २ हजार ९ सय ७६ आत्महत्याका घटना घटेका छन् । जसमध्ये १ हजार ६ सय ५६ पुरुष, ९ सय ४६ महिला १ सय १५ बालक तथा २ सय ५९ बालिका रहेका छन् ।

आत्महत्याको पछिल्लो प्रवृति हेर्दा झुण्डिएर आत्महत्या गर्नेको सङख्या बढिरहेको पाइएको छ । विष सेवन गर्नु, हाम फालेर, आगो लगाएर तथा धारिलो हातहतियारको प्रयोग गरेर समेत आत्महत्या गर्ने क्रम बढिरहेको प्रहरी नायव महानिरीक्षक ढकाल बताउँछन् ।

किन बढ्दै छन् आत्महत्याका घटना ?

मनोविद् विनोद पौडेल आत्महत्या मुख्य गरी मानसिक, सामाजिक तथा जैविक कारणले हुने गरेको बताउँछन् । उनका अनुसार आत्महत्या गर्नेमध्ये झण्डै ८० प्रतिशत व्यक्तिमा उदासिनता, डिप्रेसन तथा मानसिक समस्या देखिने गरेको छ ।

‘नेपालको सन्दर्भमा पछिल्लो समय भइरहेका हत्या, आत्महत्या र अन्य अपराधजन्य घटना नियाल्दा यसमा धेरै कारण देखिन्छन्, तनावपूर्ण जीवन, प्रेमी प्रेमिकाबीच हुने तनाव, पारिवारिक समस्या इत्यादि कारणले यस्ता घटना बढिरहेका छन्,’ मनोविद् पौडेल भन्छन् ।

उनका अनुसार कतिपय आत्महत्याका घटना सामाजिक विभेद तथा अन्य कारणले पनि घट्ने गरेका छन् । अझ घरेलु हिंसा, अनैतिक सम्बन्ध, सामान्य कुरामा चिन्ता लिने बानी र पढाइमा सोचेजस्तो परिणाम नआउनु लगायतका कारणले पनि यस्ता घटनामा वृद्धि भएका छन् ।

नेपालको राजनीतिक अवस्था, आर्थिक मन्दी, व्यापारमा घाटा, राजनीतिक संकट, सामाजिक व्यवहार लगायतका विविध कारणले पनि आत्महत्याका घटनामा समस्या आएको पौडेलको तर्क छ ।

गत वर्ष माघमा प्रेमप्रसाद आचार्यले काठमाडौंको संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘नेपालमा गरेर खाने अवस्था नरहेको र आफूले जति गर्दा पनि बाँच्न गाह्रो भएको’ भन्दै मृत्युको बाटो रोजेका थिए ।

यो घटनापछि व्यापक रुपमा यसबारे बहस भए पनि सरकारले यस्ता घटनालाई चासोका साथ हेरेको छैन ।

आत्महत्या गर्न खोज्नेले दिन्छन् पूर्वसूचना

मनोविद् विनोद पौडेल धेरै तनाव लिने, निराश हुने, लागू पदार्थ तथा मादक पदार्थको बढी सेवन गर्नेहरुमा आत्महत्याको सोच आउने बताउँछन् ।

‘आफ्नो भविष्यप्रति निराशापन देखाउने, केही गर्न सक्दिनँ कि भन्ने सोच्ने व्यक्तिले पनि यस्तो निर्णय लिन सक्छन्,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा आत्महत्या र डिप्रेसनका कुरा पटकपटक गर्ने व्यक्तिले पनि आत्महत्या गर्न सक्छन् ।’

फरक व्यवहार देखाउने त्यस्ता व्यक्तिलाई बेवास्ता गर्न नहुने बरु सम्झाउनुपर्ने मनोविद् पौडेल बताउँछन् ।

उनका अनुसार सामाजिक क्रियाकलापबाट टाढा रहने, कसैसँग पनि घुलमिल नहुने, एक्लै बस्न रुचाउने, चाँडै रिसाउने, सामाजिक सञ्जालमा आत्महत्या गर्ने विचार, भावना या पोष्टहरु शेयर गर्ने, असामान्य दैनिकी तथा असहज बोली व्यवहार देखाउने व्यक्तिमा आत्महत्या गर्ने सोच आउन सक्छ ।

कसरी रोक्न सकिन्छ यस्ता घटना ?
पछिल्लो समय बढ्दै गएका आत्महत्याका घटनाले नेपाली समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न तेर्साएको छ । यस्ता घटना घट्न नदिन समाज र सरकारले नै कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।

‘त्यस्ता लक्षण देखिएमा समाज, परिवार र साथीहरुले सद्भावपूर्ण व्यवहार गर्ने, उसको कुरा सुनिदिने, दैनिक कार्यक्रममा सक्रिय रहन प्रेरित गर्ने गर्नुपर्छ,’ मनोविद् विनोद पौडेल भन्छन्, ‘मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, यसलाई महत्त्वका साथ लिएर तीनै तहको सरकारले उचित कदम चाल्नुपर्छ ।’

नेपालमा यससम्बन्धी कानूनहरु भए पनि ती कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको पौडेल बताउँछन् ।

‘मानसिक रुपमा विक्षिप्त रहेका व्यक्तिलाई हौसला प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएमा जतिसक्दो छिटो मनोरोग विशेषज्ञ, मनोविद् उपचार तथा परामर्श समेत लिनुपर्छ,’ उनी भन्छन्

माघमै ढकमक्क फुले लालीगुराँस, जलवायु परिवर्तनको असर कति?

 काठमाडौँ– मुगुको छायाँनाथ नगरपालिकास्थित एक विद्यालयमा हालै सरस्वती पूजाका अवसरमा विद्यार्थीहरुले गुराँसका फूलहरु लिएर आए । लालीगुराँस फुल्ने समय चैत/वैशाख भए पनि मुगुसहित कर्णालीका हिमाली तथा लमजुङका उच्च पहाडी क्षेत्रहरुमा माघ महिनामै ढकमक्क गुराँस फुल्न थालेपछि स्थानीयहरु अच्चमित छन् ।

केही वर्षयता माघ/फागुनतिर नै गुराँस फुल्न थालेको स्थानीयहरु सुनाउँछन् । मुगुमा गुराँस मात्र नभएर बोटबिरुवाहरुमा नयाँ पालुवा र स्याउ पनि पुस महिनादेखि नै स–साना दाना लाग्न थालिसकेको मुगुस्थित छायाँनाथ नगरपालिका १ का स्थानीय जनप्रतिनिधि पदमराज मल्लले बताए ।

‘हाम्रो गाउँको एउटा विद्यालयमा सरस्वती पूजाको लागि विद्यार्थीहरुले गुराँसका फुलहरु ल्याएका थिए’, उनले भने, ‘हामी त अचम्ममा पर्‍यौँ । चैत बैशाखतिर फुल्ने लालीगुराँस माघमै पो फुल्न थाल्यो ।’

जलवायु परिवर्तनका कारण लालीगुराँस चाडै फुलेको यस क्षेत्रका विज्ञहरुले सुनाए । विज्ञहरुका अनुसार लालीगुराँस फुल्ने समस्या भन्दा पनि जलवायु परिवर्तनले वातावरणमा प्रभाव पारी मानवको दैनिक जीवनमै संकट आइपर्न सक्छ ।

लमजुङतिर पनि पछिल्लो तीन चार वर्षदेखि नै माघ महिनामा लालिगुराँस फुल्न शुरु गरेको लमजुङस्थित राइनास नगरपालिकाका सुचना अधिकारी सिजन देवकोटाले बताए । उनले भने, ‘केही वर्ष पहिले चैत बैशाखमा फुल्न शुरु हुन्थे ।

आजभोलि चैत बैशाखतिरसम्म त लालिगुराँस फुलेर सकिसक्छ ।’ चैत वैशाखमा फुल्ने लालीगुराँस मात्र नभएर काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्ने र छिटै पाक्ने क्रम पनि देखिएको स्थानीयहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार खासमा पहिला फागुनको मध्यतिरबाट लालीगुराँसको कोपिला लाग्न शुरु हुन्थ्यो । चैत्र–वैशाखमा मात्र ढकमक्क लालीगुराँस फूलले वनजंगल ढाकिन्थे ।

विश्वमा बढ्दै गएको तापमानका कारण पनि अहिलेको यो समस्या आएको वनस्पतिविद्हरुको मत छ । लालीगुराँस जस्तै विभिन्न फलहरु बेमौसममा देखिनु जलवायु परिवर्तनकै असरका कारण देखिएको वनविज्ञ तथा वन निर्देशनालय मकवानपुरका बरिष्ठ वन अधिकृत मधन कँडेल सुनाउँछन् ।

‘जब तापमान बढ्छ, तब कुनैपनि फलफूल होस् या अन्नवाली छिट्टै पाक्ने गर्दछ । लालीगुराँस चाडैँ फुलेको भन्ने कुरा आएको छ, यो पनि यसकै कारण भएको हो ।’ वनविज्ञ कँडेलले भने ।

नेपालमा भएको जैविक विविधतामा नै जलवायु परिवर्तनले असर पुर्‍याउने र धेरै प्राकृतिक कुराहरु लोप हुन सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ ।

कतिपय वातावरणविद्हरु भने लालीगुराँस छिटै फुल्ने समस्या जलवायु परिवर्तनकै कारण उत्पन्न भएको हो भनेर ठोकुवा गर्न नसकिने बताउँछन् । उनीहरुका अनुसार वनस्पतिको नियमित चक्रमा जलवायु परिवर्तनले फरक पार्न सक्छ । यही कारणले लालीगुराँस चाँडै फुलेको हो भनेर भन्न नसकिने जलवायु विश्लेषक मनजित ढकालले बताए ।

उनले भने, ‘जलवायु परिवर्तनका कारणले गुराँस छिट्टै फुल्ने वा ढिलो फुल्छ भनेर कुनै खास अध्ययनहरु भएकै छैनन् । तर वनस्पतिको नियमित चक्रमा भने जलवायू परिवर्तनले फरक पर्न सक्छ ।’

किटानै गरेर जलवायू परिवर्तनका कारण गुराँस छिटो फुलेको हो भन्नका लागि यस क्षेत्रमा अध्ययन हुनु आवश्यक रहेको उनको तर्क छ । पछिल्लो समय बढिरहेको फलफूलहरु बेमौसममै फुल्ने, पाक्ने गरेको कुरामा जलवायू परिवर्तनको असर परेको छ वा छैन भनेर निष्र्कषमा पुग्न कम्तिमा ३० वर्षको जलवायुको अवस्थालाई अध्ययन गर्नुपर्ने उनले बताए ।

Tuesday, June 1, 2021

विवेकशील साझाका दलका नेता उज्वल थापाको उपचारका क्रममा निधन

 



विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ। नेपालमा परिवर्तन ल्याउनका लागि वैकल्पिक राजनीतिक दल र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस सङ्क्रमित भएर काठमाण्डूको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

अन्तिम पटको कोरोनाभाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ: “युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।”

कहिल्यै लाभको पदमा नपुगेका उनी बिरामी हुँदादेखि मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले थापा एक जना लोकप्रिय नेताको रूपमा दरिन पुगेका छन्। कोरोनाभाइरस सङ्क्रमित भएर गम्भीर अवस्थामा अस्पताल भर्ना भएपछि उनका लागि देश र विदेशमा रहेका नेपालीले उठाएको ठूलो राशिको सहयोग पनि उनको लोकप्रियता मापनको एउटा गतिलो उदाहरण बनेको छ।धेरैका भनाइमा थापा यति धेरै लोकप्रिय हुनुमा उनको फरक धारको राजनीतिका साथसाथै नेपालका परम्परागत दल र नेताहरूको ‘सत्ता केन्द्रित’, राजनीतिसमेत जिम्मेवार छ।

विशेष गरी शिक्षित, सहरी, सूचना प्रविधिमा अभ्यस्त र युवा वर्गमा लोकप्रिय भए पनि न थापा न त उनको दलले नै हालसम्म ठूलो चुनावी सफलता पाउन सकेको छ। यद्यपि उनको मृत्युपछि र मृत्युअघि बिरामी अवस्थामा पनि थापाप्रति देखिएको सद्भावले नेपालीहरू राजनीतिमा ‘देश र जनताका लागि काम गर्ने’ एउटा ‘नायक’को खोजीमा छन् भन्ने देखाएको छ। नेपालको चर्चित बोर्डिङ स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए।

तर उनी खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किए।उनी आफैँले लेखे अनुसार अमेरिकामै रहँदा उनी भौतिक दुनियाँबाट बिरक्तिएर बौद्ध भिक्षु बन्नसमेत तम्सिएका थिए।तर ‘नियतिको खेला अर्कै थियो’ उनी बौद्ध भिक्षुको साटो नेपालका एक जना चर्चित युवा नेता बन्न पुगे।२१ वर्षे उमेरमा बौद्ध भिक्षु बन्ने सोच बनाएका उनले त्यसपछिको जीवनमा ‘भिक्षुकै जस्तो सादा जीवन बाँचेको’ थापा आफैँले बताउने गरेका थिए।उनलाई नजिकबाट चिन्नेहरू पनि त्यसमा समर्थन जनाउँछन्।

वेब डिजाइनर बनेर नेपाल फर्किएका थापाले यहाँ आएपछि उद्यमशीलता र समाजसेवा दुवैमा हात हाले। सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए।द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट उनले सामाजिक कार्यको थालनी गरे।थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ‘नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात भएको थियो।त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुग्यो।

नेपाल फर्किएका केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए। स्वदेश फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो।प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन। कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे। त्यसले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्द विरुद्ध अभियान’का लागि एउटा समूह बनाए। उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन “नेपाल खुला छ” भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्ने गर्थे।


राजधानी काठमाण्डूको माइतीघर मण्डलमा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे। सामाजिक सञ्चालनमा उनीहरूको अभियानको चर्चा निकै हुन थाल्यो। त्यसको एक वर्ष जति पछि थापाकै सक्रियतामा युवाहरूले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरे।

संविधानसभा गठन भएको लामो समय भइसक्दा पनि संविधान बन्न नसकेको अवस्था थियो त्यो। उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ भन्ने नारा लगाए। तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच थापाले बनाए।

सायद, त्यही आत्मबोधले हुनुपर्छ उनले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह बनाए। तर त्यसले दलको रूप भने लिएको थिएन। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाण्डूका चार क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो।

त्यस बेला थापा क्षेत्र नम्बर-५ बाट उम्मेदवार बनेका थिए। तर उनले एकदमै थोरै मत ल्याएका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो। उक्त दलले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाण्डू महानगरपालिकामा युवा रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि निकै चर्चा पायो।

तर स्थानीय चुनावमा खासै सफलता नपाएपछि वैकल्पिक राजनीतिकै लागि भनेर स्थापना भएको अर्को दल साझा पार्टी र विवेकशील एक भए। सामूहिक नेतृत्वको अवधारणमा अपनाएको उक्त दलमा थापा सह-संयोजक बनेका थिए।

उक्त विवेकशील साझा दलले २०७४ सालको आम निर्वाचनमा भाग लियो तर चुनावी सफलता खासै पाउन सकेन। विवेकशील साझा दल एक भएको १६ महिनापछि आन्तरिक विवादका कारण फुट्न पुग्यो र थापा पुनः विवेकशील दलको नेता बन्न पुगे। तर दुई कार्यकाल नेतृत्व गरेपछि उनले सहज रूपमा मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे। त्यसपछि फेरि गत मङ्सिरमा विवेकशील र साझा दल एक भएर पुनः विवेकशील साझा दल गठन भएको छ। थापा भने त्यसयता खासै राजनीतिमा कमै सक्रिय देखिएका थिए।

युवा नेता थापालाई नजिकबाट चिन्नेहरू उनले नेपालमा ‘सुसंस्कृत र उदाहरणीय’ राजनीति गरेर गएको ठान्छन्। त्यस्तैमध्ये एक रिपब्लिका दैनिक तथा माई रिपब्लिकाका प्रधान सम्पादक सुभाष घिमिरेका भनाइमा उनी ‘परिवर्तनकारी व्यक्तित्व’ थिए।

उनी भन्छन्, “म अमेरिकामा हुँदा पनि हामीजस्तो पढेको, बुझेको मान्छे स्वदेश फर्केर परिवर्तनका लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो।” उनी थापाले दुई कार्यकाल आफू पार्टीकै नेतृत्वमा रहेर त्यसपछि जसरी सहज रूपमा नेतृत्व हस्तान्तरण गरे त्यसलाई नेपालको राजनीतिमा निकै ‘सुसंस्कृत’ मान्नुपर्ने बताउँछन्।

उनकै पार्टीका कतिपय नेताहरूका भनाइमा थापाले नेपालमा अहिंसात्मक रूपमा परिवर्तनका लागि मुद्दाहरू उठाउन र त्यसलाई स्थापित गर्न सकिन्छ भन्ने छाप छाड्न सफल भएका छन्। त्यस्तै राजनीतिलाई नै पेसा बनाउने परम्परागत सोचविरुद्ध उनको अभियान नेपालीका लागि नौलो भएको कतिपय उनी निकटहरूको भनाइ छ।

उद्यमशीलता नभइ देश विकास नहुने र पढेलेखेका देशविदेश देखेका युवाले नै परिवर्तन गर्न सक्छन् भन्नेमा उनी दृढ विश्वासी रहेको उनका गतिविधिले देखाउने गरेका थिए।
यद्यपि आलोचकहरूले थापालाई सहरिया उच्च र मध्यम वर्गका मुद्दा उठाउने खाले राजनीति गरेको र सैद्धान्तिक रूपमा प्रस्ट नभएको भन्ने गरेका छन्।

विवेकशील नेपाली दल गठन गर्दादेखि अहिले विवेकशील साझा बन्दासम्म उक्त दल सैद्धान्तिक रूपमा स्पष्ट नरहेको भन्नेहरू निकै छन्। तर घिमिरे पढेलेखेका, विदेश बसेका र अवसर पाएका व्यक्तिहरू फर्किएर राजनीतिमा आएकाले थापाले थालेको राजनीतिलाई सहर, उच्च र मध्यम वर्गीय खालको भन्ने आरोप लागेको ठान्छन्।

आलोचकका नजरमा उज्ज्वल सैद्धान्तिक रूपमा स्पष्ट होउन् वा नहोउन् तर उनले नेपालको राजनीतिमा वर्षौँदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गरेका थिए। र त्यसले जमेको ठूलो पोखरीमा फालिएको सानो गिट्टीको डल्लोझैँ नेपाली राजनीतिमा तरङ्ग पक्कै ल्याइदिएको छ। तर त्यो तरङ्गलाई अझै फैलाउन नपाउँदै थापा ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भए।




Saturday, October 31, 2020

डडेल्धुरामा बुवा छोराद्वारा ठूलो बुवामाथि कुटपिट, ज्वाई वडा अध्यक्ष रमिते !

 परशुराम :डडेल्धुरामा बुवाछोराले ठुलो बुवामाथि कुटपिट गरेका छन् ।

जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ११ का मानबहादुर विष्टलाई सहोदर भाइ धनबहादुर विष्ट र भतिजा बिरबहादुर विष्टले कुटपिट गरेको पीडितले बताएका छन् ।

मानबहादुरका छोरा लोकबहादुर विष्टले बारीमा गाई गएको विषयमा विवाद हुँदा बुवामाथि काका र भाइले कुटपिट गरेको बताए ।

उनले कुटपिटबाट सख्त घाईते भएका मानबहादुरको टाउकोमा चोट लागेपनि आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लैजान नसकिएको बताए ।

ज्वाई वडाध्यक्ष रमिते ! 

बुवाछोराले ठुलो बुवामालाई कुट्दा वडा नम्बर ११ का अध्यक्ष समेत रहेका ज्वाई मानबहादुर महराले उनीहरुलाई सघाएको आरोप लगाएको छ ।

विष्टका छोरा लोकबहादुरले कुटपिट भएका बेला वडाध्यक्ष महरा पनि घटना स्थलमै भएपनि रमिते बनेर उनीहरुलाई सघाएको आरोप लगाएका छन् ।

बुवालाई कुट्ने बेला वडा अध्यक्ष पनि त्यतै हुनुहुन्थ्यो । ‘जनप्रतिनिधि जस्तो मान्छेले छुट्याउनको सट्टा कुटपिट गर्न दिए । त्यसको पछाडी उहाँको पनि पक्कै हात छ ।’ 


Tuesday, October 20, 2020


 

धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ ।

साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए ।

यस्तै प्रहरी सहायक निरिक्षकको हराएको पेस्तोल पनि नदीमै भेटिएको उनले बताए । 

गत शनिबार राती अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए ।

प्रहरी सहायक निरिक्षक आइतबार बिहान नेपाल–भारत सीमा स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १० को मोहना नदीमा हत्या गरेको अवस्थामा फेला परेका थिए ।

बिक भेटिएको स्थानदेखि २ सय मिटर टाढा साउदको शव आज बिहान भेटिएको हो । यसैबीच दुवै प्रहरीको हत्यामा संलग्न अपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पक्राउ परेका १६ जना मध्ये केहीले हत्या गरेको स्वीकार गरिसकेका छन् भने केही व्यक्तिहरु अझै भागिरहेकाले खोजी भइरहेको छ ।

उनीहरुले तस्करीको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरी हत्या गरेको प्रहरी समक्ष बयानका क्रममा स्वीकार गरेको स्रोतको भनाई छ ।

खेतमा हत्या गरेर दुवै प्रहरीलाई नदीमा बगाउने उद्देश्यले फालिएको उनीहरुले बताएका छन् । 

Saturday, April 11, 2020

नेपालमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १२ पुग्यो


काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सरकारले औपचारीक रुपमा जानकारी भने दिइसकेको छैन ।
संक्रमितहरु तीनै जना भारतीय नागरिक रहेको बताइएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
काठमाडौमा पनि रिपोर्ट पोजेटिभ आएको सरकारी अधिकारीहरुले नै भनेका छन । धर्मगुरु भनिएका तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बसिरहेको थिए ।
हेटौंडा स्थित वागमती प्रयोगशालाका अधिकारीले संक्रमण पुष्टि भएको र त्यसको जानकारी प्रदेश, संघ दुईटै सरकारलाई भइसकेको सीआईएनलाई जानकारी दिनुभयो । ‘संक्रमण भएको पपुष्टि भइसकेको छ’ ती अधिकारीले भन्नुभयो, ‘आजै संघीय मन्त्रालयले मिडिया ब्रिफिङका क्रममा सार्वजनिक गर्नेछ