Saturday, October 26, 2019

परशुराम नगरपालिकाद्धारा २ दिन बजार अनुगमन, ठुलो परिमाणमा म्याद गुज्रिएका अखाद्य बस्तु बरामद

डडेल्धुराको परशुराम नगरपालिकाले २ दिन सम्म गरेको बजार अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद गुज्रेका अखाद्य पदार्थ बरामद गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व तिहार नजिकिएसँगै उपभोक्ताको स्वास्थ्य रक्षाका लागि बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ ।
परशुराम नगरपालिकाको नेतृत्वमा बिहिबार र शुक्रबार गरी २ दिन सम्म गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका खानेतेल, सूजि, बेसनको पिठो, बिस्कुट, चाउचाउ, चकलेट, कलगेट, मसला लगायत भन्सार छली गरी ल्याइएको तोता बिँडी लगायतका बस्तु बरामद गरिएको हो । बिहिबार वडा नम्बर ६ र ७ का साँदनी, कुणा, बण्ड र शुक्रबार वडा नम्बर ९ गाइवाँधे, खानीडाँडा, कुयापानी तथा वडा नम्बर १२ को पन्तुरा बजारमा अनुगमन गर्दा म्याद गुज्रेका सामग्रीहरु विक्रि वितरण गरेको पाइएको हो ।
यस्तै पनपा–१२ जोगबुडास्थित जोशी चाउमिन घरेलु उद्योगबाट उत्पादित शसहरुमा स्पष्ट लेबलिङ नगरेको भेट्टिएको छ । अनुगमनका क्रममा सो उद्योगबाट उत्पादित चिल्ली सस र टमेटो ससमा स्पष्ट लेबलिङ नगरिएको र खानयोग्य मिति ९ महिना उल्लेख गरिदा आफुहरुलाई शङ्का लागेको व्यापारीहरुको गुनासो थियो । सो बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत गणेशदत्त जोशीसंग बुझ्दा कच्चा पदार्थ र प्याकिङ शैली अनुसार कम्पनीले फरक–फरक खानयोग्य मिति राख्न सक्ने बताए । यसअघि पनि पटक–पटक बजार अनुगमनका क्रममा सचेत गराउँदा समेत निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामग्री बेचेर व्यापारीहरुले उपभोक्तामाथि खेलबाड गरिरहेको नगरउपप्रमुख कलावती बोहराले बताइन । चार्डपर्वलाई लक्षित गरेर बजार अनुगमनलाई निरन्तरता दिइने पनि उनको भनाई छ ।
नगरउपप्रमुख बोहरा नेतृत्वको अनुगमन टोलीमा जनप्रतिनिधि, जोगबुडा उद्योग बाणिज्य संघ, इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बरामद गरिएको अखाद्य सामग्री सरोकारवाला निकायको रोहबरमा केहि दिनमै नष्ट गरिने बताइएको छ ।

No comments:

Post a Comment