Sunday, October 27, 2019

अपराध पत्ता लगाउने नेपाल प्रहरीको तालिमप्राप्त कुकुरको यसरी गरियो पूजा

unn.prixa.net
काठमाण्डौ - कुकुर तिहारको अवसर पारेर आइतबार नेपाल प्रहरीले पनि तालिमप्राप्त कुकुरहरुको पूजा गरेको छ ।
महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रले कुकुर तिहारको अवसर पारेर तालिम प्राप्त कुकुरहरुको पूजा गरेको हो । त्यस अवसरमा तालिम प्राप्त कुकुरहरुले आ–आफ्नो कौशल पनि प्रदर्शन गरेका थिए ।
नेपाल प्रहरी कार्य एवम् अपराध अनुसन्धान विभाग मातहत सञ्चालित केन्द्रले हरेक वर्ष कुकुर तिहारको दिन तालिमप्राप्त कुकुरहरुको पूजा गरी उनीहरुको कौशल प्रदर्शन गर्दै आएको छ । कुकुरलाई नेपाल प्रहरीले अपराध अनुसन्धानको काममा प्रयोग हुने गरी तालिम दिने गर्दछ ।
नेपाल प्रहरीसँग हाल ८० वटा तालिमप्राप्त कुकुर रहेका छन । तीमध्ये ५० वटा केन्द्रमा र अन्य प्रदेश तथा विमानस्थलहरुमा बाँकी तालिम प्राप्त कुकुरहरु रहेको केन्द्रकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. देउती गुरुङले जानकारी दिनुभयो ।
केन्द्रले तालिम प्राप्त कुकुरहरुको संख्या थप गर्ने प्रस्ताव पनि अघि सारेको छ । केन्द्रकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गुरुङले कारगार र भन्सार नाकाहरुमा हुने अपराध नियन्त्रणका लागि पनि कुकुरहरुको परिचालन गर्नुपर्ने माग भएकाले झण्डै डेढ सय तालिमप्राप्त कुकुरहरुको आवश्यक्ता देखिएको उल्लेख गर्दै त्यो प्रस्ताव अघि बढाइएको पनि जानकारी दिनुभयो ।
नेपालमा ठूल्ठूला अपराधका घटना पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरहरुको प्रयोग गर्ने गर्दछ । त्यस्ता तालिम प्राप्त कुकुरहरु भने नेपालले बाहिरबाट आयात गर्ने गर्दछ ।
केन्द्रकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गुरुङले अपराध नियन्त्रणका लागि पछिल्ला प्रजातिका कुकुरहरु नेपालमा नभएकाले त्यसलाई बाह्य मुलुकबाट आयात गरेर ल्याउने गरिएको पनि स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment