बैतडी: डोजरले महिला हुत्याउने बैतडीका एक चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो।
घटनामा संलग्नभएको आरोपमा चालकसहित अन्य ३ जना पनि पक्राउ परेका छन्। डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए। दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो।
झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याइएको थियो। जोशीलाई डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन् । उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ। सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

No comments:
Post a Comment