डडेल्धुरा: ऐतिहासिक अमरगढी किल्लामा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ। अगरगढी नगरपालिका–५ खलंगामा रहेको किल्लामा राष्ट्रिय झण्डा गाडिएको हो।
बिहीबार बिहान अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ऐतिहासिक अमरगढी किल्लामा झण्डोतलन गरेका हुन्।

समुद्री सतहबाट लगभग छ हजार ५०० फिट उचाइमा रहेको किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समिति र सामाजिक एकता क्लवको अगुवाइमा झण्डा गाडिएको नगरप्रमुख ओझले जानकारी दिए।
डडेल्धुरा निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी, तीनवटै सुरक्षा निकायका प्रमुख, किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका पदाधिकारी, सामाजिक एकता क्लव र पर्यटन व्यवसायी बेद उप्रेतीको सहभागिता राष्ट्रिय झण्डा गाडिएको हो।

गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको छ । अमरगढी नगरपालिकाले योजनाबद्ध रुपमा किल्लाको संरक्षण गर्ने जनाएको छ। चालू आर्थिक वर्षकमा संघीय सरकारले किल्लाका लागि ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले जानकारी दिए। सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्ला पनि परेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप ५० लाख रुपैयाँ किल्लाका लागि आउने उनको भनाइ छ।
अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो। नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मतहतमा ल्याएको थियो। तर, २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो। त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो। २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रह्यो। स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो।

बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ।
अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ।
छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्। विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ जहजै रुपमा पुग्न सकिन्छ।
No comments:
Post a Comment